सचिव भाटसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको साविक ठाडा गाविसका तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले  आइतबार शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन र सडक निर्माणका लागि विनियोजित रकम काम भन्दा बढी मूल्यांकन गरी प्रतिवेदन बनाएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त स्कुलको भवन निर्माण अधुरो रहेको र निर्माण कार्यको औचित्य पनि नदेखिएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सचिव भाट र तत्कालीन असिस्टेन्ट सब इन्जिनियर तिलबहादुर रानाले नभएको नगरेको कामको गलत प्रतिवेदन सिफारिस गर्दा २ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ नोक्सानी भएको भन्दै उक्त रकम बिगो माग दाबी गरिएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अख्तियारले भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष रामप्रसाद बेल्बासे, उपाध्यक्ष यमेन्द्र पौडेल र सचिव माधवप्रसाद श्रेष्ठले फिल्डमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गराई भ्रष्टाचार गरेको ठहर गरेको छ ।

प्रवक्ता भण्डारीले हिनामिना भएको २ लाख बढी रकम असुल गरी क्याम्पस अर्घाखाँचीलाई दिलाउन माग गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार