तरलता अभावसँगै सेयर बजारमा पहिरो

११४ दशमलव शून्य २ अङ्क अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दै छन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूल्यमा सर्वसाधारणको सेयर उठाउँदै छन् ।

बजारमा बैक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावका कारण सेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले भने यस्तो तथ्यमा ठुलो लगानीकर्ताको चलखेल भने देखाइरहेको छ ।

बैङ्कहरूले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण सेयर कारोबारमा भन्दा पनि बैंकको ब्याजमा आकर्षित भएको देखिएको छ ।

सोमबार प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले सेयर बजारको दोस्रो बजारमा ७ सय जना सेयरकर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १ सय जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूूला लगानीकर्ता सस्तोमा सेयर किनिरहेका थिए ।

सोमबार २ हजार ८१७ दशमलव ९८ बिन्दुबाट सुरु भएको बजार ११४ दशमलव शून्य २ अङ्क अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतले घटेको थियो । सोमबार कुल २२५ ओटा कम्पनीको १ लाख ७ हजार ५ सय ५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको थियो । सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ । त्यसै गरी, विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको हो ।

त्यस्तै, बैङ्किङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटेल एन्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बिमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको हो ।

त्यसै गरी, अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव शून्य ७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ५ दशमलव शून्य ७ प्रतिशत, म्युचुअल फन्ड समूहको ३ दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको हो ।

(राजधानी  दैनिकबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार