साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए ।

राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश्वर नगरपालिका-८ लाकुरीडाँडाका हुन् ।

सन्तुलन गुमाएका लामाका दाइले नेपाल फर्केपछि भाइलाई उपचार गर्ने बताएको एनआरएनएका स्वयंसेवक महतोले बताए । उनका अनुसार लामालाई श्रीलंकन एयरले मानसिक सन्तुलन ठिक नभएको भन्दै विमानस्थलबाट फर्काएका हुन् । ` टिकटका साथै कागजपत्र समेत रहेको लामालाई मानसिक अवस्था ठिक नभएकोले एयरलाइन्सले लान नमानेको हो ´ स्वयंसेवक महतोले भने,` एयरलाइन्सले लामासँगै एक जना भएमा मात्र लाने अडान राखेपछि उहाँ फर्काएर एनआरएनएको दमाम सेल्टरमै ल्याए ।´

डेढ महिनादेखि एनआरएनएको सेल्टरमा रहेका लामा २ करिब २ महिनाअघि साउदी आएका हुन् । दमामस्थित सिको गार्डनमा भेटिएका लामालाई नेपालीहरूले एनआरएनएको सेल्टरमा पुर्‍याउन आएको स्वयंसेवक महतोले बताए । उनका अनुसार लामा क्वारेनटाइन बस्दा निक्लेर हिँडेको अनुमान छ । सेल्टरमा आएकै दिन सोधपुछ गर्दा थाहा नभएको जवाफ दिएको स्वयंसेवक महतोको भनाइ छ ।

लामासँग भएको कागजातका आधारमा उनी म्याक डोनाल्ड कम्पनी आएको पत्ता लागेको स्वयंसेवक महतोले बताए । उनका अनुसार कम्पनीसँग समन्वय गरेर पठाएको दिन बेलुका नै लामा सेल्टर आइपुगेका थिए । ` सुरुको दिनमा नेपाल फर्कन मन लागेर लामाले अभिनय गर्‍यो कि भन्ने लाग्यो ´ उनले भने,´ तर बिस्तारै रातदिन नसुत्ने, छततिर र बाहिर जान खोज्ने गरेपछि सन्तुलन गुमाएको रहेछ भन्ने लाग्यो ।´

कम्पनीले दूतावास र एनआरएनएको अनुरोधमा लामालाई बहिर्गमन भिसा(एक्जिट)लगाउनुका साथै उडानका टिकट, पिसीआर लगायत व्यवस्थापन गरिदिएको स्वयंसेवक महतोले जानकारी दिए । उनका अनुसार बुधवारको उडानका लागि श्रीलंकन एयरलाइन्सको टिकट दिएको कम्पनीले अब हिमालय एयरलाइन्सको दमाम-काठमाडौंको टिकट दिने प्रतिबद्धता गरेको छ ।

मानसिक सन्तुलन गुमाएका लामा दोलखा भीमेश्वर-८, लाकुरीडाँडा लेखिएको पासपोर्टबाट सन् २०२१ डिसेम्बर २ तारिख साउदी आएको उनीसँग भएको वैदेशिक बिमा प्रमाणपत्रबाट पुष्टि भएको स्वयंसेवक महतोको भनाइ छ । स्वयंसेवक महतोले दमाम विमानस्थलबाट फर्काएपछि पिटिअनलाईबाट सन्तुलन गुमाएका लामाका परिवारलाई सम्पर्क गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार